भारतीय टेस्ट टिमको कप्तानीमा कोहलीको नयाँ रेकर्ड

असार ०६, २०७८


काठमाडौँ : भारतीय कप्तान विराट कोहलीले टेस्ट टिममा नयाँ किर्तिमान बनाएका छन् । साउथह्याम्पटनमा न्युजिल्यान्डविरुद्धको टेस्ट च्याम्पियनशिप फाइनल खेल्दा कोहलीले कप्तानीको नयाँ रेकर्ड बनाएका हुन् । भारतका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी ६१ खेलमा कप्तानी गर्ने रेकर्ड कोहलीले बनाएका हुन् ।

६० खेलमा कप्तानी गर्ने महेन्द्रसिंह धोनीको रेकर्डलाई पछि पार्दै कोहलीले नयाँ रेकर्ड बनाएका हुन् । धोनीले सन् २००८ देखि २०१४ सम्ममा भारतीय टिमको कप्तानी गरेका थिए। धोनीको कप्तानीमा भारतले २७ खेलमा जित हात पारेको थियो। कोहलीको कप्तानीमा भारतले अहिलेसम्म ३६ खेलमा जित हात पारेको छ। १४ खेलमा भारत पराजित हुँदा १० खेल बराबरीमा सकिएका छन्। 

कोहली सन् २०१४ मा भारतको टेस्ट टिमको कप्तान बनेका थिए। टेस्टमा सर्वाधिक जित निकाल्ने कप्तानको रेकर्ड दक्षिण अफ्रिकाका ग्राहम स्मिथको नाममा छ । स्मिथले १०९ खेलमा कप्तानी गर्दै ५३ खेल जिताएका छन् ।