शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना

कार्तिक ०५, २०७८


दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्को फिल्म बनाउने घोषणा गरेका हुन् । आफ्नो नयाँ फिल्ममा पनि सलोन र रुविनाकै मुख्य भूमिका रहने शोभितले बताए । शोभितले नयाँ फिल्मका निर्माता पनि ‘डाँडाको वर पीपल’ का निर्माता नवराज गिरी रहेछन् ।

तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मका सलोन र रुविना प्रेम जोडीको रुपमा देखिनेछन् । ‘डाँडाको वर पीपल’ मा पनि सलोन र रुविना प्रेम जोडीको रुपमा देखिएका थिए फिल्मको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । ‘डाँडाको वर पीपल’ कै छायाँकार सुशन प्रजापतिले फिल्म खिच्नेछन् ।