मुस्ताङबाट ‘कबड्डी ४’ को छायांकन सुरु

कार्तिक ०७, २०७८


हिट सिरिज ‘कबड्डी’ को अन्तिम श्रृंखलाको छायांकन मुस्ताङबाट सुरु भएको छ । शुक्रवार दिउँसोसम्म फिल्मका कलाकार र प्राविधिकको टोली काठमाडौंबाट मुस्ताङ पुगेपछि सोही साँझ क्यामेरा ‘अन’ गरिएको हो । निर्देशक रामबाबु गुरुङले फिल्मको सम्पूर्ण छायांकन मुस्ताङको सेरोफेरोमा हुने जानकारी दिए । यसको अघिल्ला तीन सिरिजको छायांकन पनि यही भएको थियो ।

‘कबड्डी ४ स् द फाइनल म्याच’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहनेछ । गौमायाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक फिल्ममा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् । उनका लागि दयाहाङ र सौगातबीच घम्साघम्सी हुनेछ ।

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् भने निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि। कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मलाई आउँदो नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

‘कबड्डी’ का तीनै सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुले गरेको दौडधुपको कथालाई रोचक तरिकाले देखाइएको थियो । अब यो कथालाई विट मारिने निर्देशक रामबाबु गुरुङले बताए । तर, तीनवटै सिरिजमा अभिनय गरेकी रिश्मा गुरुङ, पहिलो पार्टमा मुख्य नायक रहेका निश्चल बस्नेत र तेस्रो सिरिजकी मुख्य नायिका उपासना सिंह ठकुरी भने ‘फाइनल म्याच’ मा अटाएका छैनन् ।