असार ३ मा ‘चिसो मान्छे’

माघ २६, २०७८


बैशाख ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘चिसो मान्छे’ एक महिना पछाडि सरेको छ । अब यो फिल्म आउँदो असार ३ गतेबाट प्रदर्शन हुनेछ । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले फिल्मको रिलिज सारेको हो । फिल्मको नयाँ प्रदर्शन मिति घोषणासँगै अभिनेत्री स्वस्तिमा खड्काको लुक्स पोस्टर पनि सार्वजनिक गरिएको छ ।

पोस्टरमा स्वस्तिमा अहिलेसम्मकै भिन्न लुक्समा देखिएकी छन् । उनलाई एकै पटकमा ठम्याउन समेत मुश्किल पर्छ । रातो फरिया बेरेकी उनले बाउला च्यात्तिएको पुरानो चौबन्दी चोली लगाएकी छन् । घाँटीमा पहेँलो रंगको पोते, नाकमा साधारण बुलाकी र निधारमा रातो रंगको टीका लगाएर देखिएकी उनको अनुहारको भावले थकान, निराशा, चिन्ता, पीडा लगायत धेरै कुरा भन्छ ।

फिल्म ‘बुलबुल’ मा ट्याप्पु ड्राइभरको भूमिकामा गरेको अभिनयले वाहवाही बटुलेकी स्वस्तिमालाई ‘चिसो मान्छे’ ले थप उचाईँ दिलाउने धेरैको विश्वास छ । पोस्टरमा देखिएको उनको लुक्सले फिल्ममा उनले गरेको मेहेनत स्पष्टसँग झल्किन्छ । फिल्ममा उनी बाजुराको अति विपन्न महिलाको भूमिकामा छिन् । फिल्मका लागि उनले बाजुरामा बोलिने भाषा र लवज समेत सिकेकी थिइन् ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा स्वस्तिमाका अलावा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के। खनालको हो । ‘पशुपति प्रसाद र आमा’ जस्तो उम्दा फिल्म दिएका दीपेन्द्रले ‘चिसो मान्छे’ कस्तो बनाएका छन्, धेरैमा कौतुहलता पनि छ ।