‘सत्यम’ ढिलो चाँडो बन्छ : राजेश हमाल

फागुन ०४, २०७८


अभिनेता राजेश हमाल पर्दामा नदेखिएको चार वर्षभन्दा बढी भइसकेको छ । फिल्म ‘सकुन्तला’ को असफलतापछि उनले अफर आएका कुनै फिल्म साइन गरेनन् । बरु, फाट्टफुट्ट म्यूजिक भिडियो, देश-विदेशमा हुने सांस्कृतिक कार्यक्रम र टिभी शोमा उनले आफूलाई व्यस्त राखे । यो बीचमा उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि चलेको थियो । तर, त्यो चर्चामै सीमित रह्यो ।

चार वर्षको विश्रामपछि राजेश हमालले गत वर्ष फिल्म ‘सत्यम्’ साइन गरेका थिए । फिल्मको स्क्रिप्टमा आफैं बस्नेदेखि कसिलो शरीर बनाउन पनि उनले राम्रै मिहिनेत गरे । फिल्मका लागि कलाकारदेखि छायांकन सेट समेत तयार भइसकेको थियो । माघबाट फिल्मको सुटिङ थाल्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोना महामारीको तेस्रो लहरले फिल्मको छायांकन सुरु हुन पाएन ।

कोरोनाले फिल्मको छायांकन अनिश्चित बनेपछि बजारमा विभिन्न खाले गसिप चल्न थाले । तर, आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा हमालले बजारको हल्लालाई मत्थर बनाएका छन् । फिल्म ‘सत्यम्’ ढिलो चाँडो बन्ने उनले जानकारी दिए । कोरोना महामारीका कारण समयमा फिल्मको छायांकन सुरु हुन नसकेको उनको भनाई छ । तर, फिल्म बन्ने उनले ठोकुवा गरेका छन् ।

यो फिल्मका लागि राजेश हमालको अपोजिटमा अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । १२ वर्षपछि राजेश हमालसँग एक म्यूजिक भिडियोमा काम गरेकी उनले आइतवार आयोजित एक कार्यक्रममा आफूलाई फिल्मबाट अफर आएको भएपनि साइन नगरिसकेको जानकारी दिइन् । ‘सत्यम्’ मा पल शाह, उपासना सिंह ठकुरी र अनुपविक्रम शाही पनि फाइनल भइसकेका छन् ।