गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

बैशाख १२, २०८०


वैशाख १२, गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । वैशाख १४ गते अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि दलहरूले जानकारी गराइसक्नुपर्ने हुन्छ ।

संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन् । गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो ।

विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएका थिए । अब गठबन्धनबाट सरकार बन्ने सम्भावना छ। मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन् । कांग्रेस संसदीय दल नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुने सम्भावना छ ।