च्याम्पियन रियल अन्तिम खेलमा बराबरीमै रोकियो

साउन ०५, २०७७


५ साउन, काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन रियल मड्रिड सिजनको अन्तिम खेलमा लेगानेससँग बराबरीमा रोकिएको छ । एक खेल अघि नै उपाधि जितेकको रियलले लेगानेससँग २-२ को बराबरी खेलेको हो ।

कोरोना भाइरस महामारीपछि मार्चमा फेरि लिग सुरु भएयता रियलले लगातार १० खेल जित्दै ३४औं पटक लिग उपाधि जितेको थियो । तर अन्तिम खेलमा भने रियलले अंक बाँडेको छ ।

लेगानेसको मैदानमा भएको खेलको नवौं मिनेटमा सर्गियो रामोसले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए । ब्रायन गिलले पहिलो हाफको अन्तिम समयमा लेगानेसको लागि बराबरी गोल फर्काए । मार्को असेन्सिओले ५२औं मिनेटमा गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । रोजर एसलले ७८औं मिनेटमा लेगानेसका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि लेगानेस अन्तिम ३ मा रहेर रेलिगसनमा परेको छ । यसअघि नै च्याम्पियन बनेको रियलले ३८ खेलबाट ८७ अंक जोडेर लिग सकाएको छ ।