सन्दीपको कसिकसाउ उत्कृष्ट बलिङ, तर तलाबाज पराजित

भदौ ०७, २०७७


नेपाल लेग स्पिनर सन्दीप लामिछानेले शनिबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरे । तर पनि उनको जमैका तलाबाज टिम गुएना एमजोन वारियर्सको हातबाट १४ रनले पराजित भएको छ ।

जमैकाको यो लगातार दोस्रो हार हो । पहिले ब्याटिङ गरेको गुएनाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र खडा गरेको थियो । त्यसमा सन्दीपले चार ओभरमा आठ रन मात्र दिए र दुई विकेट लिए ।

जवाफमा जमैकाले २० ओभरमा सात विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो । सन्दीप शून्यमै आउट भए । यसअघि उनले कसिकसाउ बलिङ गर्दै सेरफान रडरफोर्ड र क्रिस ग्रिनको विकेट लिएका थिए ।

तीन खेलमा दोस्रो हारपछि जमैका अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रह्यो । उसले आफ्नो पहिलो खेल भने जितेको थियो ।