ब्राभो बने टी-२० क्रिकेटमा ५०० विकेट लिन पहिलो बलर

भदौ ११, २०७७


११ भदौ, काठमाडौं । वेष्ट इन्डिजका ड्वाने ब्राभो टी-२० फर्म्याटको क्रिकेटमा ५०० विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइटराइडर्सका लागि खेल्दै सेन्ट लुसिया जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै ब्राभोले ५०० विकेटको कोशेढुंगा पूरा गरे ।  उक्त विकेट सीपीएलमा ब्राभोको १ सयौं विकेट पनि थियो ।

यसअघि ३०० र ४०० विकेट लिने पहिलो खेलाडी पनि ब्राभो नै बनेका थिए । अष्ट्रेलियाका डिर्क नानसले टी-२० मा १०० र २०० विकेट पहिला पूरा गरेका थिए ।

टी-२० मा सर्वाधिक विकेट लिनेमा ब्राभो दोस्रो स्थानको खेलाडीभन्दा धेरै अगाडि छन् । त्यसैले अरु खेलको लागि यो कीर्तिमान तोड्न कठिन हुन सक्छ । श्रीलंकाका बलर लासिथ मालिंगाले ३९० विकेट लिएका छन् ।

अहिले खेलिरहेकामध्ये अफगानिस्तानका युवा स्पीनर रसिद खानले ३०० विकेट पूरा गरिसकेका छन् ।