CPL T20 : सन्दिपको जमैकाको सातौँ खेल आज हुँदै

भदौ १६, २०७७


करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले आफ्नो सातौँ खेलमा मंगलबार राति काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ। लिगमा एक-अर्का बिरुद्ध दुइ टिम दोश्रो पटक आमने-सामने हुन लागेका हुन्।

लिगमा शानदार प्रदर्शन गर्दै अपराजित ट्रिनबागो ६ खेलमा १२ अंक सहित अंकतालिकाको शिर्षस्थानमा रहेको छ। अर्कोतर्फ जमैका समान ६ खेल खेल्दा ३ जित र ३ हार पछि ६ अंक बटुल्दै चौथो स्थानमा छ। लिगकै शिर्ष स्थानमा रहेको टिमलाई पराजित गर्दै जमैका शिर्ष-४ भित्र स्थान सुरक्षित गर्दै लिग जित्ने दावेदारी प्रस्तुत गर्न चाहन्छ।

अर्कोतर्फ ट्रिनबागो अपराजित यात्रा कायम राख्दै जमैका बिरुद्ध यस अघिकै नतिजा दोहोर्याउन चाहन्छ। जमैकाले अन्तिम पटक ट्रिनबागोलाई २०१८ मा पराजित गरेको थियो जसपछि लगातार ४ खेलमा ट्रिनबागोले जमैकालाई पराजित गरेको छ। लिग अन्तर्गत यस अघिको खेलमा जमैकालाई ट्रिनबागोले ७ विकेटले पराजित गरेको थियो। खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ।