सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु

जेठ २३, २०७७


२३ जेठ,   पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसी आर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे । ‘डेथ भएकोले प्राथमिकता दिनु भनिएको थियो । राति २ बजेसम्म काम गरेर रिपोर्ट निकाल्यौं । पोजेटिभ आएको छ,’ उनले भने ।

यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे  मृत्यु भएको थियो । मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए । मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।