एट्लेटिकोसँग बराबरीपछि बार्सिलोनालाई उपाधि होडमा धक्का

असार १७, २०७७


स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको एट्लेटिको मड्रिडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा ३ गोल पेनाल्टीबाट हुँदा एक गोल आत्मघाती भएको थियो । बार्सिलोनाका लागि एक गोल गरेर कप्तान लिओनल मेसीले आफ्नो करियरमा सात सयौँ गोल पूरा गरे । तर लगातार तेस्रो बराबरीले बार्सिलोनाले सम्भावितमध्ये ६ अंक गुमाउँदा उपाधि होडमा ठूलो धक्का लागेको छ ।

बराबरीले बार्सिलोनाको उपाधि होडमा धक्का पुगेको छ र दोस्रो स्थानमै यथावत छ । बार्सिलोना अझै शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि छ । रियल ३२ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ । ३३ खेलबाट ५९ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ ।

अन्य खेलमा चौथो स्थानको सेभियाले लेगानेसलाई ३-० ले पराजित गरेको छ । जितपछि सेभियाको ३३ खेलबाट ५७ अंक छ ।