म हराएको छैन, फिल्ममा फर्किन्छु : अरुणिमा लम्साल

माघ १८, २०७८


कुनै बेला राम्रो माग भएकी अभिनेत्री हुन् अरुणिमा लम्साल ‘धड्कन, अग्नी ज्वाला, अभिमन्यू, इन्द्रेणी, के यो माया हो’ लगायत ५० बढी फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक फिल्म ‘उर्वशी’ मा देखिएकी थिइन् । तर, छोरीको जन्मपछि अभिनय गरेका फिल्महरु नचलेपछि उनी अमेरिका पलायन भइन् । त्यसपछि उनले नेपाल फर्किएर फिल्म अभिनयलाई निरन्तरता दिएकी छैनन् ।

तर, अरुणिमा आफूलाई आजिवन फिल्ममा अभिनय गर्ने इच्छा रहेको बताउँछिन् । अमेरिकामै बस्दै आएकी अर्की अभिनेत्री ऋचा घिमिरेसँगको कुराकानीमा उनले फिल्ममा अभिनय गर्न मन नलागेर अमेरिका नआएको बताउँदै फिल्म इन्डस्ट्रीलाई हमेशा सम्झिने गरेको र नेपाल आएको समयमा फिल्ममा अभिनय गर्ने इच्छा रहेको बताइन् । आफू फिल्मकै लागि जन्मिएको उनको भनाई छ ।

अरुणिमाले भनेकी छन्, म हराएको छैन, मैले केही समयका लागि विश्राम लिएको हुँ । तपाईंहरु सामु म फेरि आउँछु । कुन दिन कहिले भन्ने कुरा चाहिँ अहिले नै भन्न सक्दिनँ तर ढिलो-चाँडै फिल्ममा अवश्य नै फर्किन्छु । मलाई फिल्ममा काम गर्न एकदमै मन लागेको छ । नेपाल गएपछि फिल्ममा काम गर्छु भन्ने छ । आजिवन फिल्ममा काम गरिरहुँ र दर्शकमाझ आइरहुँ भन्ने सोचमा छु ।

उनले श्रीमान् अमित अर्यालसँग डिभोर्सको विषयमा पनि पहिलो पटक मुख खोलेकी छन् । उनी भन्छिन्, कुनै बेला मन पराएको थिएँ । माया गरेको थिएँ । कुरा मिल्यो विवाह गर्‍यौं, कुरा मिलेन अलग भयौं । तर, पूर्व पतिलाई दुश्मन नै किन ठान्नु ? उहाँ अहिले मेरो साथी हुनुहुन्छ । हामी सहमतिमै छुटिएका थियौं । उनले छोरीको सुःख-दुःखमा आफूहरु एकसाथ हुने गरेको बताएकी छन् ।