लक्ष्मण सुवेदीको निर्देशनमा ‘ठगराज’ बन्ने

माघ २०, २०७८


डेढ दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आएका लक्ष्मण सुवेदीको निर्देशनमा फिल्म ‘ठगराज’ बन्ने भएको छ । बुधवार उनले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालको माध्यमबाट फिल्मको घोषणा गरेका हुन् । फिल्ममा उनको निर्देशनसँगै निर्माण पनि रहनेछ । उनकै लेखन रहेको फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने बताइएको छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको ब्यानरमा बन्न लागेको फिल्मका लागि कलाकार तथा अन्य टिमको बारेमा केही समयमा जानकारी गराइने निर्देशक सुवेदीले बताए । फिल्मको चैत्र अन्तिमबाट छायांकन सुरु गर्ने उनको योजना छ । ‘ठगराज’ सामाजिक कथा, कमेडी, प्रेम र सेन्टीमेन्टको एउटा प्याकेज रहेको उनले जानकारी दिए ।

सुवेदीले यसअघि दुई फिल्मको निर्देशन गरिसकेका छन् । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यू गरेका उनले पछिल्लो पटक फिल्म ‘लालजोडी’ को निर्देशन गरेका थिए । ‘कृष्ण लीला’ ‘आरोप’ जस्ता फिल्मको कथा, पटकथा तथा संवाद समेत लेखिसकेका उनी फिल्म ‘स्टार’ मा कार्यकारी निर्माताको रुपमा पनि थिए । उनले ५ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्न लागेका हुन् ।