नेपाली फिल्मका विभिन्न आयाम समेटिएको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

चैत ०६, २०७८


चैत ६, नेपाली फिल्मका आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक क्लोज-अप सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक नारायणा पुरी, दीपाश्री निरौला, झरना थापालगायतले पुस्तक लोकार्पण गरे ।

चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकलाई फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेका हुन् । पुस्तक ३ सय ६३ पृष्ठको छ । अनि सुरु भयो नेपाली चलचित्र उद्योग राजेश हमाल युगदेखि युगसम्म, भारतबाट नेपाली चलचित्र सीमानाले अलग, भाषा र सिर्जनाले एक, साँघुरो छ आधा आकाश, चलचित्र निर्देशनमा चौथौ अंग र अन्त्यमा गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाइ र संघर्षलाई समेटिएको छ ।

निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले क्लोज-अप एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली फिल्मलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । अभिनेत्री मानन्धरले डिजिटल युगमा धेरै कुरा इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । किताबको आफ्नै महत्व छ, आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु, उनले भनिन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्रीले निरौलाले ‘क्लोज-अप’ लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । चलचित्रकर्मीको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र १ भन्ने खालको स्थिति छ, उनले भनिन् । लेखक पराजुलीले भने, मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु, यो एउटा सुरुवात मात्र हो ।

ठूलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । ५९९ रुपैयाँ मूल्य तोकिएको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जनाइएको छ ।