लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

चैत ०९, २०७८


पर्यटन प्रवर्द्धन सँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्धेश्यसहित आउँदो बैशाख पहिलो साता गोरखा जिल्लाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । बैशाख ५ गतेदेखि ७ गतेसम्म हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरुलाई मात्र सहभागी गराइने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।

मंगलवार महोत्सव हुने स्थान र मितिको घोषणा गर्दै फिल्म दर्ताका लागि आह्वान पनि गरिएको छ । महोत्सवमा सहभागी हुन चाहने फिल्मले ruralnepal2078@gmail.com मा इमेल गरेर सहभागिता जनाउन सक्नेछन् । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी गराइने जानकारी दिए ।

महोत्सवमा जुरी टिमले छनोट गरेका फिल्महरु स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने फिल्मको टिम र दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने बिषयमा वर्कशप हुने र फिल्मकर्मीहरुको बीचमा ग्रामीण फिल्मको कथा तथा मौलिक फिल्म निर्माण सम्बन्धि अन्तरक्रिया पनि हुने अध्यक्ष सापकोटाले बताए ।

महोत्सवमा लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने गरी विभिन्न प्रस्तुति हुने जानकारी दिँदै रघुनाथले भनेका छन्, ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरुलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।