भदौ ३१ मा तीन नेपाली फिल्म भिड्ने

चैत १६, २०७८


कोरोनाले थलिएको फिल्म क्षेत्र विस्तारै तङ्ग्रिने अवस्थामा छ । कोरोनाका कारण रिलिज हुन नसकेका फिल्मले अहिले धमाधम रिलिज मिति तोक्न थालेका छन् ।
अंग्रेजी र हिन्दीसँग प्रतिस्पर्धा त छँदैछ । नेपाली निर्माताले एकअर्का फिल्मसँग जुधाउन थालेका छन् । जसको उदाहरण भदौ ३१ लाई हेर्न सकिन्छ । यो मितिमा तीन फिल्मको रिलिज घोषणा भएको छ ।

अहिलेसम्म यो मितिमा ‘बाबरी’, ‘लाखे’ र ‘झिँगे दाऊ’ले प्रदर्शन मिति घोषणा गरेका छन् । ‘बाबरी’ र ‘लाखे’ले केही पहिले यो मिति प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेका थिए, भने ‘झिँगे दाउ’ले भर्खर रिलिज घोषणा गरेको हो ।
‘बाबरी’ धिरज मगर र अदीति बुढाथोकीको मुख्य भुमिका रहेको फिल्म हो । फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहेको छ ।

त्यस्तै ‘लाखे’ मल्टिस्टारर फिल्म हो । सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी आदि कलाकारको अभिनय रहेको फिल्म सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।
यस्तै ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाऊ’ मा आँचल शर्मा र केकी अधिकारीको मुख्य भूमिका छ ।