स्वस्तिमाले किन छाडिन् ‘पल्पसा क्याफे’ ?

चैत १८, २०७८


अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा अभिनय गर्ने तयारीमा थिइन् । ‘पल्पसा क्याफे’ पुस्तकमाथि मञ्चन हुन लागेको नाटकमा उनको अभिनय रहने गरी गत वर्ष राजधानीमा एक कार्यक्रमका बीच नाटकको घोषणा गरिएको थियो । कोरोनाका कारण एक वर्ष रोकिएको नाटक अब आउँदो बैशाख ९ गतेबाट मञ्चन हुँदैछ तर स्वस्तिमाले भने नाटकबाट हाट झिकेकी छन् ।

समय अभावका कारण स्वस्तिमाले नाटकमा अभिनय गर्न नसकेको निर्देशक विमल सुवेदीले जानकारी दिए । उनी बाहिरिएसँगै नाटक ‘पल्पसा क्याफे’मा अभिनेत्री सृष्टि श्रेष्ठको प्रवेश भएको छ । अब उनले नाटकमा पल्पसाको भूमिका निर्वाहा गर्नेछन् । थिएटर भिलेजको नाटक थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर मञ्चन हुने सह(निर्देशक दीलिप रानाभाटले बताए ।

सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा दृश्यको भूमिकामा नाटक निर्देशक विमल सुवेदी आफैँले अभिनय गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन् । कोरोना महामारीका कारण नाटक पटक(पटक सरेकाले नयाँ-नयाँ कलाकारहरूलाई जुटाउन धेरै समस्या भएको कास्टिक डिरेक्टर तथा सह(निर्देशक दीलिप रानाभाटले जानकारी दिए ।

हालै प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’बाट अभिनयको प्रशंसा बटुलेकी सृष्टिले यसअघि पनि नाटकको अनुभव लिइसकेकी छन् । उनले थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरेकी थिइन् । नाटक ‘पल्पसा क्याफे’मा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतको पनि अभिनय रहनेछ ।