‘ए मेरो हजुर ४ को‘ तिमी र म’ गीतमा रोमान्टिक अनमोल र सुहाना

चैत २०, २०७८


वैशाख १ गते रिलिजको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ को नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । फिल्मको यो तेस्रो गीतमा प्रतीक पौडेलको शब्द तथा संगीत र उदयराज पौडेलको स्वर छ । ब्याक-भोकलमा प्राश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वयंले एरेञ्ज गरेका हुन् ।

गीतमा फिल्मका प्रमुख कलाकारद्वय अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । अभिनेत्री झरना थापाले निर्देशन गरेको तेस्रो फिल्म ‘ए मेरो हजुर ४’ मा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायतको पनि अभिनय छ । सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा मित्र गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

फिल्मको कथा निर्देशक तथा अभिनेत्री थापाले नै लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई छेतेन गुरुङ, मन्दीप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।