दुई दिनमै मल्टीप्लेक्सहरुबाट उत्रियो ‘हेल्लो जिन्दगी’

चैत २०, २०७८


विदेशी फिल्मले हलहरुमा आफ्नो पकड बनाइराखेको अवस्थामा नेपाली फिल्म प्रदर्शन गर्नु भनेको निर्माताले आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर मानिन्छ । विदेशी फिल्मसँग भिड्दा मल्टीप्लेक्सहरुले नेपाली फिल्मलाई उल्लेख शोज नै दिँदैनन् । त्यसमाथि दर्शकको पहिलो रोजाई नेपाली फिल्म बन्ने गरेको छैन । अनि त, नेपाली फिल्म प्रदर्शनको दुई दिन पनि हलमा टिक्न पाउँदैन ।

चैत १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ को यही हविगत भयो । अघिल्लो हप्ता प्रदर्शनमा आएको साउथ फिल्म ‘आरआरआर’ को बक्सअफिसमा दबदबाबीच यो फिल्म प्रदर्शनमा उत्रिएको थियो । जसले गर्दा मल्टीप्लेक्सहरुले फिल्मलाई झारो टार्ने शो दिएका थिए । यद्यपि, निर्माण टिम ‘माउथ पब्लिसिटी’ले शो बढ्नेमा विश्वस्त थियो । तर, परिस्थिति वितरित बनेको छ ।

‘हेल्लो जिन्दगी’को न माउथ पब्लिसिटी बलियो बन्न सक्यो न दर्शकले नेपाली फिल्म भनेर नै माया गरे । अन्ततः प्रदर्शनको दुई दिनमा नै राजधानीका मल्टीप्लेक्सहरुले फिल्मलाई उतारेका छन् । शुक्रवार र शनिवार औसत चलेको फिल्मले आइतवारबाट राजधानीका कुनै मल्टीप्लेक्समा एक शो पनि पाएको छैन । मल्टीप्लेक्सहरुले दर्शक नै नआएपछि फिल्म उतार्ने गरेका छन् ।

‘हेल्लो जिन्दगी’ लाई हटाएर मल्टीप्लेक्सहरुले भएभरको शो ‘आरआरआर’ माथि थुपारेका छन् । अब बैशाख १ गतेसम्म यही फिल्मले नेपाली बक्सअफिसमा राज गर्ने निश्चित छ । दोस्रो हप्तामा पनि आक्रामक व्यापार गरिरहेको फिल्मले नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी फिल्मको रेकर्ड बनाउने सम्भावना बढेको छ । केही वर्षयता नेपालमा साउथ फिल्मको एकाधिकार बढ्दो छ ।

मल्टीप्लेक्सहरुबाट उत्रिएको ‘हेल्लो जिन्दगी’ लाई अब सिंगल थिएटरको भर छ । तर, दर्शकको उपस्थिति उत्साहजनक नभएकाले फिल्मले सिंगल थिएटरबाटै लगानी उठाउने सम्भावना भने न्यून हुँदै गएको छ । एभरेष्ट सूर्य बोहोराको निर्देशनमा बनेको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, मनोज केसी लगायतको अभिनय रहेको छ ।