पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो

चैत २२, २०७८


एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई तनुहँबाट पूर्वी नवलपरासी नवलपुर पठाइएको छ । नवलपरासी जिल्ला अदालतले थुनछेक बहसका लागि उपस्थित गराउन पत्रचार गरेपछि शाहलाई मंगलवार विहान नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले नाबालिगलाई विभिन्न प्रलोभन दखाई जबर्जस्ती करणी गरेको देखिन आएको भन्दै शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेशपछि थुनामा रहेका पल शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दिइसकेका छन् ।

ती नाबालिग गायिकाले तनहुँपछि नवलपरासी प्रहरी कार्यालयमा पनि शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा जाहेरी दिएकी थिइन् । तनहँमा अनुसन्धान भइरहेको समयमा शाहलाई नवलपरासी झिकाएर प्रहरीले एक हप्ता अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले चैत ३ गते नवलपरासी अदालतमा मुद्धा दर्ता गरेको थियो ।

नवलपरासीमा थुनछेक बहस सकिएपछि शाहलाई पुनः दमौलीको कारागार फर्काइनेछ । फागुन ११ गते तनहुँ र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा नाबालिगका पिताले दिएको जाहेरीमा विभिन्न ठाउँमा पटक-पटक शाहले जबर्जस्ती करणी गरेको उल्लेख छ । तनहुँ प्रहरी कार्यालयमा जाहेरी परेपछि चार दिन भूमिगत भएका शाह फागुन १५ गते आफैं प्रहरीसामु पुगेका थिए ।