घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी

चैत २३, २०७८


अभिनेत्री साम्राज्ञी आरएल शाहको सुरुवाती करिअर जबर्जस्त रह्यो । डेब्यू फिल्म ‘ड्रिम्स’ सफल हुनुका साथै उनको अभिनयको पनि प्रशंसा भएपछि साम्राज्ञीले करिअर फर्केर हेर्नु परेन । दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सफल हुँदा उनी निर्मातारनिर्देशकको पहिलो रोजाई बनिन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले पनि उनलाई राहत नै दियो । तर, अरु फिल्मले भने उनको स्टारडम बचाउन सकेन ।

पछिल्लो पटक निकै आश गरेका दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ असफल भएपछि निराश भएकी साम्राज्ञीले दुई वर्ष नयाँ फिल्म साइन गरिनन् । कोरोना महामारी समयमा भने उनले निर्देशकहरु मिलन चाम्स, प्रवेश पौडेल, डा. कपिल रिजाल र रमेश एमके पौडेलका गरी चार फिल्म साइन गरिन् । जसमध्ये मिलन र प्रवेशको फिल्मको छायांकन सुरु हुन सकेको छैन ।

फागुन अन्तिममा कपिल रिजालको ‘ह्यारीकी प्यारी ’को छायांकन पूरा गरेकी साम्राज्ञीले मंगलवार नयाँ फिल्म साइन गरेकी छन् । समीक्षात्मक रुपमा सफल मानिएको फिल्म ‘पञ्चेबाजा’ का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको ‘लन्डन टु पेरिस’ नामक फिल्ममा उनी अनुबन्ध भएकी हुन् । एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुनेछ ।

फिल्ममा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी रहनेछ । आगामी असारबाट फिल्मको छायांकन सुरु हुने निर्देशक लामिछानेले जानकारी दिए । फिल्म ‘पासवर्ड’ यता एबी इन्टरनेसनलले लगातार फिल्म निर्माण गर्दै आएको छ । यो कम्पनीको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा छ भने ‘हनी बनी’ निर्माणको तयारीमा छ ।