पुजा र आकाश को ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक

बैशाख ०५, २०७९


निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक भएको तीन मिनेट चार सेकेन्ड लम्बाईको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीचको प्रेममा आउने उचार-चढावलाई देखाइएको छ । अफिसको सिइओ र कर्मचारीबीचको प्रेमलाई फिल्मले प्रस्तुत गरेको ट्रेलरबाट स्पष्ट बुझ्न सकिन्छ । ट्रेलरमा कमेडी र रोदन पनि मिश्रित छ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा निर्देशक निमेष प्रधान स्वयंले तयार पारेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्म ‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको हो । कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् । आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘सम्झना बिर्सना’लाई पूजा र आकाशको स्टारडमको परीक्षा मानिएको छ ।