कोरोना कविता : साथी भए चराहरु

चैत २३, २०७६


विपुल पोखरेल
वरिष्ठ उपाध्यक्ष ( नेपाल पत्रकार महासंघ )

 

म चराको घरमा आएँ कि,
चराहरु मेरो घरमा आए ?
मलाई थाहा छैन
आजकल चराहरुसंग मेरो प्रेम बसेको छ
कल्याङ-कुलुङ आवाजमा दिल बसेको छ ।

मान्छेहरु भन्दा आजकल चराहरु धेरै देखिन्छन्
आवाजमा पनि उनीहरुले अचेल मान्छेलाई जितेछन्
मान्छे घरभित्र छिपेर बसेको छ,
स्वतन्त्र विचरण गर्ने भूमिकामा आजकल चराहरु छन् ।

कति रगिन हुँदा रहेछन् चराहरु पनि
सारी, गौथली, जुरेली, कौइली बन्दै गरेको काग सबैलाई चिन्दछु म
अनुहारले हैन, रंगले, आकारले अनी आवाजले
यीनै आकार, रंग अनी आवाजसंगको प्रेममा डुवुल्की मारिरहेको छु म ।

कोरोना भनिने सुच्छम जीवाणुले,
चराहरुसंग मिलन गराएको छ
वाल्यकालमा सुनेको आवाज,
फेरि सुन्ने अवसर दिलाएको छ

संघार बाहिर निस्कँदा अचेल,
चरा देख्छु, चरा सुन्छु अनी चरासंगै लडाईं गर्छु
मैले खाने भनेर साँची राखेको मेवा ठुङ्दै छ चरा
पहेलो भएको अम्वामा आँखा र ठोड संगै घुसाएको छ चरा
अनी लडाई त पर्ने नै भयो
यो लडाइमा उसैले जितेको छ धेरै पटक
बोक्रामात्र छाडेर भुर्रररर उड्छ उ
आक्रोशित मेरा आँखा उस्को पखेडा पछ्याउछ,
अनी चित्त बुझाउछ

बरण्डाको बारामा बसेर चरा,
काममा मस्त मसंग आँखा जुझाउँछ
मैले बेवास्ता गरे भने
टाउको पल्याक पुलक्क गर्दै ध्यान आफुतिर खिच्छ
चराहरुको पनि डर भागेछ क्यारे आजकल,
हा… हा… भन्ने अवाजलाई पुरै खारेज गर्छ

घरको आँगनमा आजकल
छतरान्न पराल र सुकेको घाँस छरिएको हुन्छ
जती सोहोरे पनि उस्तै !
सारीको काम त भैगयो, आधा गुँडमा टाँस्छ, आधा भूइमा
तै पनि गुँड बनाउने निरन्तरको प्रयास जारी छ

बिस्कुनमा एकोहोरो आक्रमण छ,
बिष्टाले आँगन रंगाएको छ
प्वाँखहरुको बर्षा झै छ

चराहरु आजकल अराजक देखिन्छन्
उनीहरु अराजक भएका कि
म बिरानो भएको ?

गंभिर सवाल पैदा भएको छ मनमा
चरालाई यतै छाडी भौतारिएको म
चरासंगै किन माया लगाइरहे छुँ ?
उनीहरुको प्रीतको गीतमा किन लठ्ठिइरहेछु ?

चराहरु निस्कपट छन्
इमान्दार छन्
यथोचित कर्ममा व्यस्त छन्
मान्छे जस्तो असन्तुटी बोकेर
सन्तुष्टी खोज्न दौडदै गर्दा आफ्नो पन गुमाएका छैनन्

त्यसैले कोरोनाले कैद बनाएको बेला
चराहरुसंग मित लाउदै छुँ
चिरबिर-चिरविरको मिठो संगितमा
जीवनको गीत गाउँदै छुँ । ।