‘जात्रा’ निर्देशकको ‘महापुरुष’ मा महजोडी

चैत २८, २०७८


अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माताले सामाजिक सञ्जालबाट शीर्षक र कलाकार सार्वजनिक गरेका हुन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मलाई सामाजिक विषयवस्तुमा आधारित रहेर बनाउन लागिएको जनाइएको छ ।

सन्तुलनमा बसिरहेको समाजलाई असन्तुलित बनाउन खोज्नेको कथा हो, निर्देशक भट्टराईले भने, यसमा राजनीतिको लेनादेना छैन । महजोडी सहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री मुख्य कलाकारको रुपमा छन् । वैशाख दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई नरेन्द्र मैनालीले खिच्ने जनाइएको छ ।

यसअघि समीक्षात्मक र बक्स अफिसमा सफल टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको कम्पनी षट्कोण आर्ट्स प्रा.लि.ले ‘महापुरुष’ बनाउन लागेको हो । रविन्द्रसिंह कार्यकारी निर्माता रहेको फिल्ममा दीपेश खत्री निर्माता छन् । यी दुई जनाले निर्माण गरेको अर्को चर्चित फिल्म ‘डाकिनी’ पनि रिलिजको तयारीमा छ ।