राष्ट्रिय लोकदोहोरी महोत्सवका विजेतालाई पुरस्कार वितरण

बैशाख ०६, २०७९


डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजको आयोजना रहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो ।
महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा पुरस्कार बितरण गरिएको कार्यक्रममा प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु। ५ लाख, दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु। ४ लाख तथा तेश्रो हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवम सुरेन्द्र फ्याली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद रु। ३ लाख र सान्त्वना वापतको रु। २ लाख पनि यसै समूहलाई प्रदान गरियो ।

प्रतियोगिताको निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेश्रो हुने दुइ समूहले आपसी समझदारी गरेकाले आयोजकले तेश्रो र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरेको हो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निशुल्क गीत रेकर्ड गरिदिने समेत आयोजक डिएआर ग्रुपले जानकारी दिएको छ ।

त्यसका साथै उत्कृष्ट गायक तथा गायिका एवम् अनुशासनमा गाउने लगायतको मुल्यांकन गरेर पनि नगद पुरस्कारको व्यवस्था गरिएकोमा उक्त रकम समेत सोमबार नै वितरण गरिएको छ ।
गत चैत्र २६ गतेदेखि ३० गतेसम्म चलेको राष्ट्रिय लोक दोहोरी महोत्सव ३० गतेसम्म ५ दिन चलेको थियो । उक्त महोत्सव उद्घाटनका दिनदेखि हरेक दिनको प्रतियोगितामा एकजना विशिष्टि व्यक्तिको उपस्थिति गराईको बाँकी चार दिन नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, वहालवाला डिआइजी बसन्त लामा, वागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का तथा समापन भने वागमती प्रदेशकै खेलकुदमन्त्री रत्न ढकालकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

दोहोरी महोत्सवमा देशभरीबाट ६८ समूहले भाग लिएका थिए । लोकदोहोरी प्रतियोगिता मध्यकै सर्वाधीक बढी पुरस्कार राशीको यो महोत्सवमा पुरुषोत्तम न्यौपाने, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा रहेका थिए भने अमृत खाती, मीना मैयाँ थापा, भीमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको थियो ।